केपी ओलीले घर न घाटको अवस्थामा पुर्याएपछि नयाँ पार्टी दर्ताका लागि बाध्य : माधव नेपाल
काठमाडौं : प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले एकताका नाममा आफूहरुलाई घर न घाटको बनाउन खोजिएको आरोप लगाएका छन् ।
चन्द्रागिरि रिसोर्टमा सोमबारदेखि जारी प्रस्तावित पार्टीको बैठकबारे मंगलबार पत्रकारहरूसँग कुराकानीका क्रममा नेता नेपालले एकता मिलाउने नाममा केपी ओलीले आफूहरूलाई सिध्याउने षड्यन्त्र गरेको बताएका हुन् ।
नेता नेपालले ओलीले पार्टी एकलौटी कब्जा गरिसकेपछि नयाँ पार्टी खोल्नेबाहेक अर्को विकल्प नरहेको बताए । अब केपी ओलीको दक्षिणपन्थी कित्ता एकातिर र क्रान्तिकारीहरु अर्कातिर पुगेको उनको तर्क थियो ।
एमाले अध्यक्ष केपी ओलीले घर न घाटको अवस्थामा पुर्याएपछि नयाँ पार्टी दर्ताका लागि बाध्य भएको नेपालको भनाइ छ । वार्ता र सहमतिका नाममा सधैँ झुलाउने र एमालेमा एकताको ढोका बन्द गरेपछि यो निर्णयमा पुगेको उनले बताए ।
फरक दल खोले पनि एकताको च्याप्टर क्लोज नभएको उनको भनाइ थियो । हाल ओलीलाई साथ दिएका नेताहरूलाई समेत स्वागत गर्न आफू तयार रहेको उनले बताए ।