कांग्रेस जिल्ला सभापतिहरुद्वारा पार्टीको केन्द्रीय कार्यालयमा धर्ना
काठमाडौं : नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन् । क्रियाशील सदस्यताको सूची सार्वजनिकलगायतका माग राखेर संस्थापनइतर पक्षका जिल्ला सभापतिहरू आन्दोलित भएका हुन् ।
क्रियाशील सदस्यताको नामावली पार्टीको वेवसाइटमा सार्वजनिक गरिनुपर्ने लगायत माग राख्दै उनीहरुले धर्नामा बसेका हुन् ।
जिल्ला सभापतिहरूले निर्वाचन निर्देशिकामा सबै जिल्ला र तहमा एकरूपता आउने व्यवस्था गर्नसमेत माग गरेका छन् ।
एकमात्रै निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला सभापतिको उम्मेदवार बन्न महाधिवेशन प्रतिनिधि हुनुनर्पे व्यवस्था हटाउन उनीहरूको माग छ ।
क्रियाशील सदस्यताको सूचीमा हुने त्रुटी विधान र मापदण्डबमोजिम छानविन गरेरमात्रै अन्तिम रूप दिइनुपर्ने माग समेत उनीहरुले राखेका छन् ।
कांग्रेसले ९ लाख क्रियाशील सदस्य बनाएको बताइएको छ । क्रियाशील सदस्यताबारे विवाद हल गरेर सोमबार बेलुकीमात्र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवा र नेता पौडेललाई प्रतिवेदन हस्तान्तरण गरेका थिए ।