कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै गराउन सरकारलाई संसदीय समितिको निर्देशन
काठमाडौं : संसदको शिक्षा तथा स्वास्थ्य समितिले भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा लिन निर्देशन दिएको छ ।
मंगलबार समितिको बैठकमा शिक्षा मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि समिति सभापति जयपुरी घर्तीले कोरोना विरुद्धको खोप दिएर भौतिक उपस्थितिमा परीक्षा संचालन गर्न निर्देशन दिएकी हुन् ।
समितिको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गरी भौतिक उपस्थितिमा तत्काल परीक्षा गराउन निर्देशन दिएको हो ।
कोरोना संक्रमणको जोखिम रहेको भन्दै स्थगित भएको कक्षा १२ को परीक्षा भौतिक उपस्थितमै लिने तयारी भएको शिक्षा मन्त्रालयले बताएको छ ।
शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले स्वास्थ्य मन्त्रालयसँग छलफल गरेर दशैँअघि भौतिक उपस्थितिमै परीक्षा लिने तयारी भइरहेको जानकारी दिए ।
३ लाख ९६ हजार विद्यार्थी १८ वर्षमाथि रहेकोले उनीहरूका लागि कोभिड दिन सकिने बताउँदै विद्यार्थीलाई खोप दिन स्वास्थ्य मन्त्रालयसँग कुरा गर्ने उनले बताए ।
सचिव थपलियाले अहिले भौतिक रूपमै परीक्षा लिने वातावरण बनेको बताउँदै स्वास्थ्य मन्त्रालयको सल्लाहका आधारमा परीक्षा संचालन गर्ने बताए ।