आज गाईजात्रा पर्व, दिवङ्गत आफन्तको सम्झनामा मनाइँदै
काठमाडौं : आज गाईजात्रा पर्व, नेवार समुदायमा वर्षभरिमा दिवङ्गत भएका आफन्तको सम्झना तथा आत्मशान्तिका लागि गाई वा मानिसलाई गाईका रूपमा सिँगारी नगर परिक्रमा गराउने प्रचलन छ ।
दिवंगत आफन्तले मोक्ष पाउन् भन्ने कामनाका साथ गाईलाई नगर परिक्रमा गराई आज गाईजात्रा पर्व मनाइँदैछ ।
गाईजात्राका अवसरमा राजनीतिक तथा सामाजिक विकृति, विसंगतिप्रति व्यंग्य गरेर विभिन्न हास्यव्यङ्ग्यात्मक प्रस्तुति समेत हुने गरेका छन् ।
काठमाडौं उपत्यकामा तत्कालीन राजा प्रताप मल्लकी रानी आफ्नो छोरा चक्रप्रतेन्द्र मल्लको मृत्यु शोकमा डुबेपछि रानीलाई सान्त्वना दिन प्रताप मल्लले शहरमा वर्षभरी कति जनाले आफन्त गुमाए, कतिजनालाई यस्तै शोक पर्यो भनेर देखाउन यो जात्रा निकाल्न थालेको विश्वास छ ।
गाईजात्रा पर्व काठमाडौं लगायत ललितपुर, भक्तपुर, काभ्रे, मकवानपुर, सिन्धुपाल्चोकमा पनि मनाउने गरिन्छ । यस्तै नुवाकोट, दोलखा, खोटाङ, भोजपुर, इलाम, सुनसरी, मोरङ, पर्सा, कास्की, पाल्पा, दाङलगायतका जिल्लामा पनि यो पर्व धुमधामका साथ मनाउने गरिन्छ ।