अफगानिस्तानबाट थप ७२ जना नेपाली काठमाडौं आइपुगे
काठमाडौं : अफगानिस्तानबाट उद्धार गरिएका थप ७२ जना नेपाल फर्किएका छन् । उनीहरु बुधबार बिहान कतार एयरवेजको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।
उनीहरुलाई होल्डिङ सेन्टरमा राखेर कोरोना परीक्षण लगायत प्रक्रिया पूरा गरी घर पठाइने छ ।
मंगलबार दिउँसो ११८ जना र राति ८७ जना नेपाली जजिरा एयरलाइन्सको चार्टर्ड विमानबाट कुवेत हुँदै काठमाडौं आएका थिए ।
परराष्ट्र मन्त्रालयका अनुसार अफगानिस्तानबाट नेपाल फर्किन चाहेको भन्दै २५६ नेपालीले आफ्नो विवरण दर्ता गराएका छन् ।
अफगानिस्तानमा रहेका नेपालीलाई कन्सुलर सेवा विभागको वेबसाइटमा अनलाइन पोर्टलमा रहेको नामसहितका विवरण दर्ता गर्न भाइबर र हृवाट्सएप सुविधासहितको मोबाइल नम्बर उपलब्ध गराइएको छ ।
उद्धार गर्ने कार्यमा संस्थागत रुपमा अफगानिस्तानमा रोजगारीका लागि नेपाली नागरिक पठाउने वैदेशिक रोजगार व्यवसायीलाई उद्धार प्रक्रिया सहयोग गर्न आग्रह गरिएको छ ।