कांग्रेस महाधिवेशन तीन महिना सर्यो : अब मंसिर ९ देखि १३ गतेसम्म हुने
काठमाडौं : नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका पुनः संशोधन भएको छ । यसअघि तोकिएको कार्यतालिका अनुसार काम नभएपछि पुनः संशोधन गरिएको हो ।
सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय समिति बैठकले नयाँ कार्यतालिका पास गरेको छ ।
नयाँ कार्यतालिका अनुसार केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १२ गतेसम्म गर्ने निर्णय भएको छ ।
यसअघि भदौ १६ देखि १९ गतेसम्म तोकिएको महाधिवेशनको मिति तीन महिना पर सारिएको हो ।
यस्तै क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउनका लागि भदौ २ सम्मको मिति तोकिएको छ । त्यस्तै निर्वाचन निर्देशिका भदौ २ गते नै बुझाउनुपर्ने छ ।
त्यस्तै वडा तहको अधिवेशन भदौ १८ गतेका लागि तोकिएको छ । स्थानीयतहका अधिवेशन भदौ २७ गते गर्ने निर्णय गरेको छ ।
त्यस्तै प्रदेशसभा क्षेत्रका क्षेत्रीय अधिवेशन असोज १ गते, संघीय निर्वाचन क्षेत्रीय अधिवेशन असोज ५ गते र जिल्ला अधिवेशनहरु असोज १० गते आयोजना हुने भएका छन् ।