कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै, महाधिवेशनको नयाँ कार्यतालिका तय गर्नै सकस
काठमाडौं : १४ औं महाधिवेशनको नयाँ कार्यतालिका तय गर्न नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । बिहीबारदेखि शुरु भएको केन्द्रिय समितिको बैठक आज दिउसो दुई बजेपछि पार्टी सभापति निवास बुढानिलकण्ठमा बस्न लागेको हो ।
बैठकमा बिहीबार प्रस्तुत भएका समायोजन सम्बन्धी प्रतिवेदन र क्रियाशील छानबिन समितिको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले आज पनि धारणा राख्नेछन् ।
महाधिवेशनको कार्यतालिका संशोधनका लागि तय गरिएको बैठक अझै केही दिनसम्म लम्बिने बताइएको छ ।
निर्धारित समयमा महाधिवेशन गर्न नसक्दा वैधानिकता गुमाउने अवस्थामा रहेको सत्तारूढ दल कांग्रेसमा चौधौं महाधिवेशन तत्काल गर्ने कि नगर्ने भन्ने विवाद छ ।
सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका नेताहरूले महाधिवेशन कम्तीमा ६ महिना पर सार्नुपर्ने पक्षमा छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले संस्थापन पक्षको महाधिवेशन नगर्ने नियत राखेको आरोप लगाएको छ । पार्टी विधानअनुसार चार वर्षमा गर्नुपर्ने महाधिवेशन साढे पाँच वर्ष बित्दा पनि अनिश्चित बनेको छ ।