ठूलो रिक्स लिएर प्राधिकरण आएको छु, कुनै कम्प्रोमाइज हुँदैन : कुलमान

0

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार पदबहाली गरेका छन् ।

घिसिङले प्राधिकरणको केन्द्रीय कार्यालय दरबारमार्गमा पुगेर पदबहाली गरेका हुन् । पदबहाली अघि घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आएर चार वर्षे नियुक्तिपत्र लिएका थिए ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले पूर्वकार्यकारी निर्देशक घिसिङलाई पुनः नियुक्ति गरेको हो ।

पदबहालीपछि घिसिङले नागरिकलाई सस्तो र सुलभ बिजुली दिँदै कम्पनीलाई नाफामा पनि लैजाने बताए । उनले आफूले सकेसम्म प्राधिकरणको छवि उच्च बनाउने प्रतिवद्धता पनि जनाए ।

उनले ठूला आयोजनाको पूर्णता र सञ्चालन तथा विद्युत् खपतको विषयमा धेरै काम गर्नुपर्ने भएकाले आफ्नो ध्यान त्यसमा केन्द्रीत रहेको जिकिर गरे ।

घिसिङले प्राधिकरणलाई अघि बढाउन सबै कर्मचारीको साथ र सहयोग आवश्यक रहेको धारणा राखे । विद्युत प्राधिकरणभित्रको सुशासनलाई महत्वपूर्ण रुपमा राखिने उनले बताए ।

उनले नेपालको लगानी जलविद्युतमा धेरै भन्दा धेरै गर्नुपर्ने पनि बताए । आफु ठूलो रिक्स लिएर प्राधिकरण आएको भन्दै घिसिङले अव कुनै कम्प्रोमाइज नगर्ने स्पष्ट पारे ।

अघिल्लो ४ वर्षे कार्यकालमा प्राधिकरणलाई नाफामा लगेका घिसिङले देशलाई लोडसेडिङमुक्त गरेपछि चर्चामा आएका थिए ।

Leave A Reply

Your email address will not be published.