लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा, प्रदेश प्रमुखद्वारा स्वीकृत

0

काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएका छन् । प्रदेशसभाको विशेष अधिवेशनमा अविश्वास प्रस्ताव पेश हुनुअघि नै पोखरेलले प्रदेशप्रमुख अमिक शेरचनलाई राजीनामापत्र बुझाएका हुन् ।

उनको राजीनमामा प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गरेका छन् ।

पदबाट राजीनामा दिएपछि पोखरेलले नयाँ सरकारलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । मुख्यमन्त्री कार्यालयमा पत्रकार सम्मेलन गर्दै पोखरेलले नयाँ नेतृत्वलाई सहयोग गर्न मुख्यमन्त्री कार्यालयका कर्मचारीलाई आग्रह पनि गरे ।

पोखरेलले आफ्नो कार्यकालमा सरकारले सडक पूर्वाधार, खानेपानी, शैक्षिक क्षेत्रमा उल्लेख्य सफलता हासिल गरेको दाबी गरे । आफुले गरेका कामलाई प्रदेश सरकारका संरचनाले निरन्तरता दिएमा प्रदेश अगाडी बढ्ने उनको भनाइ थियो ।

पोखरेलले प्रदेशले स्थायी राजधानी तोकेर भौतिक पूर्वाधार निर्माणको लागि गुरुयोजना निर्माण भइरहेको बताउँदै यसलाई सरकारको ठूलो सफलताका रुपमा लिनुपर्ने धारणा राखे ।

संविधानको धारा १६८ को १ बमोजिम एमालेको एकल बहुमतका आधारमा मुख्यमन्त्री बनेका पोखरेलले संविधानको धारा १६८ को २ बमोजिम सरकार गठनका लागि मार्गप्रशस्त गर्न भन्दै राजीनामा दिएको दाबी पनि गरे ।

यसअघि सरकार अल्पमतमा रहेको भन्दै विपक्षी गठबन्धनले मुख्यमन्त्रीविरुद्ध साउन १९ गते अविश्वास प्रस्ताव दर्ता गराएको थियो । विपक्षी दलका ३४ प्रदेशसभा सदस्यको समावेदनअनुसार प्रदेशप्रमुख शेरचनले बुधबार प्रदेशसभा बैठकको आह्वान पनि गरेका थिए ।

Leave A Reply

Your email address will not be published.