सैनिक फिर्ता गर्ने निर्णयमा पछुतो छैन : बाइडेन
एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट सैनिक फिर्ता गर्ने आफ्नो निर्णयमा कुनै पछुतो नरहेको बताएको छन् ।
अफगानिस्तानमा तालिबानले लगातार एकपछि अर्को शहर नियन्त्रणमा लिइरहेका बेला अमेरिकी राष्ट्रपति बाइडेनको उक्त भनाइ आएको हो ।
ह्वाइट हाउसमा सञ्चारकर्मीहरुसँग बोल्दै बाइडेनले अमेरिकाले अफगानिस्तानसँग गरेका प्रतिबद्धता पूरा गरिरहेको बताए ।
उनले हवाई सैनिक सहायता, सैनिकहरूलाई तलब र अफगान फौजलाई खाद्यान्न र बन्दोबस्तीका सामानहरू अमेरिकाले प्रदान गरिरहेको बताए ।
बाइडेनले अफगानिस्तानका नेताहरुलाई एकतावद्ध भएर आफ्नो देशका लागि लड्न सुझाव दिएका छन् ।
अमेरिकीसहित नेटोमा आवद्ध सैनिक फिर्ता हुने थालेसँगै अफगानिस्तानमा तालिबान बिद्रोहीको प्रभाव तीव्र गतिमा बढ्दो क्रममा छ ।
अफगानिस्तानका ३४ मध्ये कम्तीमा ८ प्रान्तका राजधानी तालिबानले कब्जा गरेको छ ।
संयुक्त राष्ट्रसंघका अनुसार गएको महिना तालिबान र सरकारी सुरक्षा बलबिच भएको भिडन्तको क्रममा एक हजार भन्दा बढी सर्वसाधारणको ज्यान गएको छ ।