एमसीसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू ?- ओली
काठमाडौं : पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा के गर्नुहुन्छ भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले एमसीसीका विषयमा जिज्ञासा राखेका हुन् । सरकारको साझा कार्यक्रममा एमसीसीको बारेमा केही नसमेटिएको बताउँदै अध्यक्ष ओलीले नेपाली जनताले जान्न चाहेको छ, एमसीसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू ? भन्दै प्रश्न गरे । यसअघि ओलीले सोमबार एमालेको केन्द्रीय कमिटी बैठकमा संशोधनसहित एमसीसी पारित गर्नुपर्ने धारणा राखेका थिए ।
अध्यक्ष ओलीले गठबन्धन सरकारले ल्याएको साझा न्यूनतम कार्यक्रमलाई सडकमा बाँडेको कागजको संज्ञा दिए । उनले सरकारले संसद चलिरहेका बेला संसद छलेर न्युनतम साझा कार्यक्रम ल्याएको आरोप लगाए । यसमा कांग्रेसको अनुहार समेत नदेखेको उनको टिप्पणी छ ।
अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनका नेताहरू दशैंमा केटाकेटी आँगनमा नाचे जसरी हौसिएर नाचिरहेको टिप्पणी गरे । असामान्य तरिकाले सरकार परिवर्तन भएकाले नै सत्तारुढ गठबन्धनका नेताहरू हौसिएर नाचिरहेको उनको भनाइ थियो ।
अध्यक्ष ओलीले सरकारले एक महिनाको समय खेर फालेको बताए । अबको १४–१५ महिना सरकारले बधाइ र शुभकामना लिएरै व्यतित गर्ने उनले भविष्यवाणी गरे । विकासको रफ्तारमा चल्नुपर्ने सरकारको लक्षण राम्रो नदेखिएको उनले बताए ।
ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिँदै विकासको रफ्तारमा लाग्न सरकारको ध्यानाकर्षण गराए । राजनीतिक उपलब्धिको महत्व सरकाले बुझ्नुपर्ने उनको भनाइ छ ।
प्रधानमन्त्री पदमा विश्वास गर्ने भन्दै उनले नेपाली जनताले आफूलाई सुम्पेको जिम्मेवारी पूरा गरेको बताए । उनले आफूलाई पवित्र, अनुचित र अलोकतान्त्रिक गठबन्धन गरेर हटाइएको पनि बताए ।