एमाले विवाद थप चुलियो : समानान्तर गतिविधि चलाउने नेपाल समूहको तयारी
काठमाडौं : नेकपा एमालेले एकलौटी रूपमा अध्यक्षलाई झन् शक्तिशाली बनाउने गरी विधान संशोधनको प्रस्ताव अघि बढेपछि एमाले विवाद थप चुलिएको छ ।
सोमबारको केन्द्रीय कमिटीबाट अध्यक्षलाई शक्तिशाली बनाउने प्रस्ताव अघि बढेपछि वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष थप चिढिएको छ ।
अध्यक्ष ओलीले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक गरी विधान संशोधन प्रस्ताव अगाडि बढाएपछि नेता नेपाल पक्षले देशव्यापी रूपमा समानान्तर गतिविधि अघि बढाउने तयारी गरेको छ ।
ओली पक्षको सोमबारको निर्णयका विषयमा आज वरिष्ठ नेता नेपालले आफु निकट नेतासँग छलफल गर्दैछन् ।
सोमबारको ओली पक्षको निर्णयबाट पार्टी एकताको सम्भावना लगभग सकिएको नेपाल समूहको निष्कर्ष छ ।
ओली समूहले भने अध्यक्षलाई काम गर्न अप्ठ्यारो महसुस भएकाले अध्यक्षमात्र निर्वाचित हुने परिकल्पना गरिएको बताउँदै आएको छ ।