एमालेमा अध्यक्ष मात्रै महाधिवेशनबाट निर्वाचित हुने
काठमाडौं : नेकपा एमालेले अध्यक्ष बाहेक सबै पदाधिकारी मनोनित गर्ने गरी विधान संशोधनको प्रस्ताव केन्द्रीय कमिटीबाट पास गरेको छ ।
आगामी भदौ २७ र २८ गते आयोजना हुने विधान महाधिवेशनमा प्रस्ताव गर्ने विधान मस्यौदा केन्द्रीय कमिटीबाट पारित गरिएको हो ।
केन्द्रीय कमिटीले पास गरेको विधान संशोधन मस्यौदामा अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव र सातजना सचिव रहने गरी पार्टीका पदाधिकारी राख्ने व्यवस्था भएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए । सचिवमा समावेशी कोटासमेत राखिने भएको छ । एमालेमा अब स्थायी कमिटी, पोलिटव्यूरो र सानो संख्याको सचिवालय बनाइने ज्ञवालीले बताए ।
विधान महाधिवेशनमा प्रतिवेदन पेश गर्न चार वटा समिति गठन गरिएको छ । अध्यक्ष केपी ओलीको संयोजकत्वमा राजनीतिक प्रतिवेदन मस्यौदा समिति, महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा संगठनात्मक प्रतिवेदन मस्यौदा समितिको प्रस्ताव गरिएको छ ।
केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेको अध्यक्ष केपी ओलीले एमालेमा फर्किएर काम गर्न चाहनेका लागि जहिले पनि स्वागत रहेको भन्दै कसैलाई पर्खेर नबस्ने बताएका छन् । ओलीले तल्ला कमिटीका गतिविधिहरु नरोक्न निर्देशन समेत दिएका छन् ।
यस्तै स्थायी कमिटी बैठकमा सहभागी भएर विधान संशोधन प्रस्तावमा आफ्नो राय राखेका एमाले उपाध्यक्ष वामदेव गौतम केन्द्रीय कमिटी बैठकमा भने सहभागी भएनन् ।
स्थायी कमिटी बैठकमा गौतमले अध्यक्ष केपी ओलीको आलोचना गरेका थिए । स्थायी कमिटी र केन्द्रीय कमिटीका दुवै बैठकमा माधव नेपाल पक्ष भने सहभागी भएको छैन ।