जसपाका तीन सांसदको रिटमाथि अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) ले पदमुक्त गरेका लुम्बिनी प्रदेशसभाका तीन सांसदलाई पुनर्बहाली गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।
सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले उनीहरुको माग अनुसार पद थमौतीका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
पार्टीले निष्काशन गरेपछि सांसद पद गुमाएसँगै पार्टी र प्रदेशसभा सचिवालयको निर्णयविरुद्ध विजयबहादुर यादव, सन्तोषकुमार पाण्डेय र कल्पना पाण्डेय सर्वोच्च गएका थिए ।
सर्वोच्चले विपक्षीसँग लिखित जवाफ माग गरेको छ भने अन्तरिम आदेशका लागि छलफल गर्न भदौ ८ गते दुवै पक्षलाई बोलाएको छ ।
निर्वाचन आयोगबाट उपेन्द्र यादवले जसपाको आधिकारिकता पाएपछि पार्टी निर्णयविपरीत सरकारमा सहभागी भएको भन्दै उनीहरुलाई कारबाही गरिएको थियो । प्रदेशसभाले उनीहरूलाई पदमुक्त गरेपछि लुम्बिनी सरकार अल्पमतमा परेको छ ।