कोभिशिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो डोज लगाउन शुरु

0

काठमाडौं : सोमबारदेखि कोभिशिल्डको पहिलो मात्रा लगाएका जेष्ठ नागरिकलाई दोस्रो मात्रा खोप लगाउन शुरु गरिएको छ । भूटान र जापानबाट ल्याइएको एष्ट्राजेनेका खोप आएसँगै यसअघि पहिलो मात्रा कोभिसिल्डको खोप लगाएका ज्येष्ठ नागरिकलाई खोप दिन शुरु गरिएको हो ।

कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकहरुलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रदेश १ र २ मा भने खोप अभियान केही दिनपछि मात्र शुरु हुनेछ ।

स्वास्थ्य कार्यालयले काठमाडौंमा १४४ खोप केन्द्र तोकेको छ । यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रहरुमा नै एष्ट्राजेनिका खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

एस्ट्राजेनेका खोप कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर बसेका १३ लाख ६८ हजार १ सय ७६ जना ज्येष्ठ नागरिकलाई दिइने यसअघि नै सरकारले घोषणा गरिसकेको छ ।

नेपालमा हालसम्म खरिद र अनुदान गरेर करिब एक करोड मात्रा खोप नेपाल आइपुगेको छ । नेपालले ६० लाख खोप खरिद गरेको छ । चीनबाट ४० लाख भेरोसेल र भारतबाट २० लाख कोभिशिल्ड खोप खरिद गरिएको छ। भारतबाट खरिद गरिएकोमध्ये १० लाख खोप आउन बाँकी छ ।

Leave A Reply

Your email address will not be published.