जापानले दिएको एस्ट्राजेनेका खोप काठमाडौं आइपुग्यो
काठमाडौं : जापान सरकारले नेपाललाई उपलब्ध गराउने भनेको कोरोना भाइरस विरुद्धको खोप नेपाल आइपुगेको छ । जापानले अनुदानमा उपलब्ध गराउने घोषणा गरेको एस्ट्राजेनेकाको १६ लाख डोज खोप मध्ये ५ लाख १३ हजार डोज नेपाल आइपुगेको हो ।
कतार एयरवेजबाट आएको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि जापानी राजदूत युताका किकुताले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई हस्तान्तरण गरे ।
बाँकी खोप सम्बद्ध संस्थासँगको सहकार्यमा नेपाललाई छिट्टै उपलब्ध गराइने जापानी राजदूतावासले जनाएको छ ।
खोप आइतबारदेखि काठमाडौं उपत्यका र बागमती प्रदेशका जिल्लाहरुमा वितरण गर्ने तयारी छ ।
जापानले उपलब्ध गराएको खोप भारतमा उत्पादित कोभिशील्ड खोपको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई उपलब्ध गराउने सरकारले यसअघि नै घोषणा गरिसकेको छ ।