माधव समूह केन्द्रीय कमिटी बैठक : ओलीले माफी नमागेसम्म एकतामा जान नहुने अडान
काठमाडौं : नेकपा एमालेको माधव नेपाल समूह तत्काल नयाँ पार्टी पनि नखोल्ने र सरकारमा पनि नजाने भएको छ ।
शुक्रबार सकिएको केन्द्रीय कमिटीको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले नयाँ पार्टी खोल्ने र सरकारमा सहभागी हुने कुरा गलत हुने धारणा राखेका थिए । उनीहरुले पार्टी एकतामै जोड दिएका थिए ।
यद्यपि यी दुवै विषयमा केन्द्रीय सदस्यहरुबीच फरक फरक धारणा आएका थिए । बैठकमा नयाँ पार्टी बनाएर तत्काल सरकारमा जाने विषयमा पनि सदस्यहरुले धारणा राखेका थिए ।
बैठकमा केही सदस्यहरुले पार्टी एकता गर्नका लागि अध्यक्ष केपी ओलीले सार्वजनिक रुपमा माफी माग्नुपर्ने धारणा पनि राखेका थिए ।
बिहिबार र शुक्रबारको बैठकमा ५५ जना केन्द्रीय सदस्यहरुले बोलेका थिए । केही सदस्यहरुले ओलीले माफी नमागेसम्म एकतामा जान नहुने अडान पनि राखेका थिए ।
ओलीलाई एमाले अध्यक्ष नै स्वीकारेर निर्वाचनमा जान नसकिने पनि उनीहरुको भनाइ थियो । एक हप्ताभित्र सार्वजनिक रुपमा माफी नमागे एकता गर्न नहुने तर्क पनि बैठकमा उठेको थियो ।