काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता लम्बियो
काठमाडौं : कोरोना संक्रमितको संख्या पछिल्ला दिनमा बढिरहँदा काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप एकसाता लम्ब्याइएको छ ।
उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले साउन २७ गते मध्यरातसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।
निषेधाज्ञाको अवधिमा सभा सम्मेलन तथा भिडभाड हुने कार्यक्रममा थप कडाई गरिने भएको छ ।
सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, रेस्टुरेन्ट, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, संग्रहालय, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रम संचालन गर्न÷ गराउन रोक लगाइएको छ ।
त्यस्तै खुला स्थानमा मानिसहरु भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज भतेर आदि गर्न/गराउन नपाउने यसअघिको व्यवस्थालाई निरन्तरता दिइएको हो ।