काठमाडौं : स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी तलब र सुविधा नलिने घोषणा गरेका छन् । मन्त्री भएपछि पहिलो पटक गरेको पत्रकार सम्मेलन मार्फत आफ्नो एक सय दिने कार्ययोजना सार्वजनिक गर्दै उनले सुरक्षाकर्मी बाहेकका सवै सरकारी सुविधा नलिने घोषणा गरेका हुन् ।
मन्त्रीको रुपमा आवास, तलबभत्ता लगायतको कुनै पनि सेवा सुविधा नलिने श्रेष्ठले घोषणा गरेका हुन । राज्य मन्त्री श्रेष्ठले आफू आबद्ध सबै व्यवसायीक संस्थाबाट अलग्गिएको घोषणासमेत पत्रकार सम्मेलनमा गरेका छन् ।
आफ्नो स्वार्थ बाझिने कुनै पनि निर्णय प्रक्रियामा समेत सहभागी नहुने उनले प्रतिबद्धता जनाएका छन् ।
उनले १७ दिनभित्र जेष्ठ नागरिकले कोभिशिल्डको दोस्रो मात्रा पाउने पनि उनले जानकारी दिए ।
जापानले उपलब्ध गराउने भनेको खोप १४ दिनभित्र आइपुग्ने त्यसको तीन दिनभित्र लगाउने योजना उनले सार्वजनिक गरेका हुन् ।
चीनले अनुदानमा दिएको १६ लाख र जापानले दिएको १६ लाख खोप दुई साताभित्र आइसक्नेछ । भुटानले दिएको ३ लाख डोज खोप पनि छिट्टै आइपुग्ने उनले जानकारी दिए ।
मोडेर्नाको ४० लाख खोप खरिदका लागि विश्व बैंकमार्फत रकम भुक्तानी गरेको उनले बताए । अमेरिकी कम्पनी जोनसन एण्ड जसनसको ५० लाख, फाइजरको ४० लाख र एस्ट्राजेनेकाको २० लाख खोप खरिदको प्रक्रिया पनि अघि बढेको स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले जानकारी दिए । चीनको सिनोफार्म कम्पनीसँग ६० लाख खोप खरिदका लागि सम्झौता भइसकेको छ ।
मन्त्री श्रेष्ठले आफ्ना २३ बुँदे कार्ययोजना सार्वजनिक गरेका छन् । जसमा आगामी माघभित्र पाँच करोड २२ लाख खोप प्राप्त हुने उल्लेख छ ।
खरिद अनुदान र कोभ्याक्समार्फत् माघसम्म पाँच करोड २२ लाख ८२ हजार खोप प्राप्त हुने अवस्था रहेको उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।
९७ लाख खोप आइसकेको र कोभ्याक्स कार्यक्रममार्फत पनि १ करोड १३ लाख डोज खोप आउँदा ५ करोड २२ लाख ८२ हजार खोप उपलब्ध हुने मन्त्रालयको अनुमान छ ।