जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन
काठमाडौं : जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव संसदीय दलको नेता चयन भएका छन् । सिंहदरबारमा शनिवार बसेको संसदीय दलको बैठकले यादवलाई सर्वसम्मत दलको नेता चयन गरेको हो ।
दलको नेताका लागि संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले यादवको नाम प्रस्ताव गरेका थिए भने सांसद महेन्द्र यादवले समर्थन गरेका थिए । महन्थ ठाकुर पक्ष पार्टीविहीन बनेपछि दलको नेता चयन भएसँगै यादव पार्टीमा शक्तिशाली बनेका छन् ।
यसैबीच शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा जसपाबाट यादवले नेतृत्व गर्ने निर्णय पनि गरेको छ । जसपाले दलको नेता चयन गरेसँगै अब देउवालाई मन्त्रिपरिषद् विस्तारका लागि बाटो खुलेको छ ।
जसपा र माओवादीले सूची पठाएपछि देउवाले मन्त्रिमण्डल विस्तार गर्नेछन् । जसपालाई चारवटा मन्त्री दिने देउवा र पुष्पकमल दाहालबीच सहमति भए पनि जसपाले ६ वटा मन्त्रालयको माग गरेको छ ।