बेलायतले युरोप र अमेरिकाबाट आउनेका लागि लगाइएको प्रतिबन्ध हटायो, अब क्वारेन्टिन बस्नु नपर्ने
एजेन्सी : बेलायतले युरोप र अमेरिकाबाट आउने यात्रुका लागि लगाएको प्रतिबन्ध हटाएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध आगामी सोमबारवाट लागू हुने गरी हटाइएको हो ।
प्रतिबन्ध हटेसँगै कोरोनाविरुद्ध दुवै मात्रा खोप लगाइसकेका युरोप र अमेरिकाबाट बेलायत आउने यात्रुहरुले अब क्वारेन्टिन बस्नु नपर्ने भएको छ ।
नयाँ नियमसँगै लामो समयदेखि आफ्ना परिवारबाट टाढिएका व्यक्तिहरुसँग भेट्न पाउने अवसर मिल्ने बेलायत सरकारले जनाएको छ ।
यात्रा गर्नु अघि र बेलायत पुगेपछि यात्रुहरुले अनिवार्य पीसीआर परीक्षण भने गर्नुपर्ने नियम लागू गरिएको छ । युरोपेली यात्रुका लागि ‘इयू डिजिटल कोभिड प्रमाणपत्र’ र अमेरिकाबाट आउनेहरुले सीडीसी कार्ड अनिवार्य गरिएको छ ।
दुवै डोज खोप लगाएको प्रमाणस्वरूप कार्ड अनिवार्य गरिएको हो । कोरोना संक्रमण दर बढेपनि जनजीवन सामान्य हुँदै गएको भन्दै प्रतिबन्ध हटाएको बेलायतले जनाएको छ ।