पक्ष र विपक्षमा लाग्न नैतिकताले दिएन : रेशम चौधरी
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) विवादको निरुपणका लागि हस्ताक्षर सनाखत गर्न निर्वाचन आयोग पुगेका निलम्बित सांसद रेशम चौधरी तटस्थ बसेका छन् । आयोगमा पुगेका चौधरीले पक्ष र विपक्षमा नलाग्ने बताए ।
आफू जसपाको इमान्दार सिपाही भएकोले जसपाको हित मात्रै आफूले चाहने चौधरीले बताए । उनले महाभारतको प्रसंग जोड्दै महन्थ ठाकुरलाई भीष्म पितामह बन्न आग्रह गरे।
ठाकुरप्रति आफ्नो आदर, सम्मान र निष्ठा सधैँ रहने भन्दे चौधरीले सम्मानको निष्ठाको पार्टीलाई एक बनाइराख्ने धारणमा उभिन आग्रह गरे।
जेलबाट निर्वाचन आयोग आएर पक्ष र विपक्षमा लाग्न आफ्नो नैतिकताले नदिएको चौधरीको भनाइ थियो ।
उनले भने, ‘आज जेलबाट यस निर्वाचन आयोगमा आएर पक्ष र विपक्षको सनाखत गर्न मेरो नियत र नैतिकताले दिएन । मेरो लागि पक्ष जसपा हो विपक्ष पनि जसपा हो । म जसपाको एउटा कार्यकर्ता हुँ । आज राजनीतिक मुद्दाका कारणले म जेल बस्नुपरेको छ । मेरो मुद्दामा मेरो पार्टी कत्तिको लडिरहेको छ त्यो उहाँहरूको दृष्टिकोण होला ।’
त्यस्तै सो अवसरमा उनले कविता समेत सुनाए । चौधरीले सुनाएको कविता यस्तो छ :
कठघरामा उभिएर जति सत्य बके पनि
न्याय पाउँ भन्दै हजुर सयौं पटक झुके पनि
निरीह ठान्दा रहेछन् शिर निहुराएपछि
दोषी ठहर्याउँदा रैछन् चुप लागेर बसेपछि
श्रीमान् न्याय देऊ हामीलाई क्षमा चाहिँदैन
दोषीलाई दण्ड देऊ तर निर्दोषीलाई थुन्न पाइँदैन ।