काठमाडौं : इजरायलले नेपालबाट एक हजार जना कामदार माग गरेको छ । उसले नेपालबाट केयरगिभरको माग गरेको वैदेशिक रोजगार विभागले जानकारी दिएको हो ।
इजरायलले मागेको कामदारका लागि एक डेढ हप्ताभित्र विज्ञापन खुलाउने तयारी विभागको छ । विभागले इजरायलमा केयरगिभरका लागि जाने कामदारका लागि २१ दिनको म्याद राखेर आवेदन खुलाउने तयारी गरेको छ ।
इजरायलमा केयरगिभरमा जानका लागि उमेर २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ । शैक्षिक योग्यता कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सीएमएसम्बन्धी विषयमा १५ महिनाको अध्ययन पूरा गरेको अथवा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी सरकारबाट मान्यताप्राप्त तालिम लिएको हुनुपर्नेछ ।
इजरायल र नेपालबीच भएको सम्झौतामा पहिलो चरणमा ५ सय जना मात्रै कामदार लाने उल्लेख छ । त्यसैले दुईपटक विज्ञापन गर्ने विभागको तयारी छ ।
नेपाल र इजरायल सरकारबीच बीच २०७७ असोज १४ गते नेपाली श्रमिक इजरायल पठाउने विषयमा श्रम सम्झौता सम्पन्न भएको थियो ।