स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले लिए शपथ
काठमाडौं : नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले पद तथा गोपनियताको शपथ लिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले श्रेष्ठलाई राज्यमन्त्रीको शपथ गराएका हुन् ।
शपथपछि राज्यमन्त्री श्रेष्ठले आफ्नो पहिलो प्राथमिकता कोरोना विरुद्धको खोप ल्याउने र खोपको वितरणलाई प्रभावकारी बनाइने बताए ।
कोरोना महामारीको समयमा लामो समय स्वास्थ्य मन्त्रालय रिक्त हुँदा खोप लगायतका काम प्रभावित बनेको भन्दै स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले गुनासो गरेपछि देउवाले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएका हुन् ।
श्रेष्ठले राज्यमन्त्रीको शपथ लिएपछि देउवा मन्त्रिपरिषद् ६ सदस्यीय बनेको छ । राज्यमन्त्री श्रेष्ठले आइतबार नै स्वास्थ्य मन्त्रालयमा गएर पदभार सम्हालेका छन् ।