काठमाडौं : मुस्लिम धर्मावलम्बीहरुले आज बकर इद पर्व हर्ष र उत्साहका साथ मनाउँदै छन् ।
इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ ।
मुस्लिम धर्मावलम्बीले यो पर्वलाई बलिदानीको पर्वका रुपमा पनि मनाउने गर्छन् । इस्लाम महिनाको जुल हिज्जाको दशौँ दिन यो पर्व मनाउने गरिन्छ ।
नेपाली मुस्लिम धर्मावलम्बीहरुले बकर इदका अवसरमा नजिकैको मस्जिद इदगाहमा भेला भई नवाज पढेर पर्वको शुभारम्भ गरेका छन् ।
यो इदगाहमा नवाज पढेर एकआपसमा शुभकामना आदान प्रदान गर्ने चलन छ । बकर इदमा जनावरलाई ‘कुर्वानी’ अर्थात् बलिदानी दिने गरिन्छ । बलिदानी दिइएको जनावरको मासुलाई तीन भाग लगाएर एक भाग आफन्त, एक भाग गरिब परिवार र अर्को भाग आफ्ना लागि राख्ने नियम रहेको छ ।
यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भएकाले मुस्लिम आयोगलगायत निकायले विज्ञप्ति जारी गरी घरमै बसेर सुरक्षितरुपमा बकर इद मनाउन आह्वान गरेका छन् ।
यसैबीच इदको अबसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेबी भण्डारीले सामाजिक विविधता भित्रको सुदृढ एकताले नै राष्ट्रिय भावनालाई अझ बलियो बनाउन योगदान गर्ने विश्वास ब्यक्त गरेकी छिन् ।
पर्वका अवसरमा शुभकामना दिदै प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ को प्रभाव नपरोस् भनी स्वास्थ्यका मापदण्ड अपनाउँदै इद पर्वलाई सजगताका साथ मनाउन अनुरोध गरेका छन् । सरकारले बकर इदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।