सरकारबाट बाहिरिएकोमा चिन्ता होइन प्रणाली भत्किएकोमा हो : नेता ज्ञवाली
काठमाडौं : नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप कुमार ज्ञवालीले संविधानको धारा ७६(५) को अपव्याख्या गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको बताएका छन् ।
आइतबारको प्रतिनिधि सभाको दोस्रो बैठकमा बोल्दै सांसद ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवालाई संविधानको धारा ७६(५) को अपव्याख्या गरेर प्रधानमन्त्री नियुक्त गरिएको बताएका हुन् । उनले निर्दलीय व्यवस्थालाई जस्केलाबाट छिराउने काम भएको पनि बताए ।
नेपालको संसदीय इतिहासमा दलहरुको विभाजनले सरकारहरु गिराउने, लोकतन्त्र कमजोर गर्ने र संसदीय व्यवस्था प्रति नै वितृष्णा जगाउने इतिहास स्थापित भएको उनले बताए ।
उनले आफुहरु प्रतिपक्षमा बस्नु सामान्य कुरा भएको टिप्पणी पनि गरे । आफुहरुलाई चिन्ता सरकारबाट बाहिरिएकोमा नभई प्रणाली भत्किएकोमा भएको उनले बताए ।
जतिसुकै अप्रिय भएपनि सर्वोच्च अदालतको फैसला मान्ने भन्दै उनले लोकतान्त्रिक प्रणालीमा सर्वोच्च अदालतले प्रधानमन्त्री तोक्ने कल्पना गर्न नसकिने पनि बताए ।
सर्वोच्च अदालतको फैसलाले शक्तिपृथकिकरणको सिद्धान्त भत्किएको पनि उनले बताए । आफुहरुले देउवालाई विश्वासको मत दिन नसक्ने भन्दै उनले राष्ट्रको हितमा आफ्नो पार्टी अटल पहरेदार भएर प्रतिपक्षको भूमिकामा रहने बताए ।