दोस्रो पटक पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक बस्दै

0

काठमाडौं : सर्वोच्च अदालतको आदेशानुसार सङ्घीय संसदको अधिवेशन आइतबारदेखि शुरु हुँदैछ । सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा आइतबार अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् ।

संसदको आठौँ अधिवेशनको पहिलो दिन सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ । यस्तै सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यक्रम छ ।

सम्भावित कार्यसूचीअनुसार सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम १ बमोजिम अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी निधन भएका पूर्व सांसद एवं संविधान सभा सदस्यहरूप्रति शोक प्रस्ताव पारित गरिने कार्यसूची छ । आज बस्ने बैठकमा सरकारले १६ वटा विधेयकहरू पेश गर्ने तयारी गरेको छ । यीमध्ये बजेट सम्बन्धी ३ वटा अध्यादेश रहेका छन् ।

मन्त्रिपरिषद बैठकले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका अध्यादेशहरु प्रतिनिधि सभामा पेश गर्दै प्रक्रियामा लैजाने निर्णय गरेको थियो ।

आइतबार नै राष्ट्रियसभाको बैठक पनि बस्दैछ । प्रतिनिधि सभा पुनर्स्थापना भएपछि अघिल्लो सरकारले हठात् राष्ट्रिय सभा अधिवेशन अन्त्य गरेको थियो । अभिवेशनको लागि सम्पूर्ण सांसदहरू, राष्ट्रिय सभा सदस्य, कर्मचारी लगायतको कोरोना परीक्षण भइसकेको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साउन ३ गतेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी थिइन् ।

मन्त्रिपरिषद्को सिफारिसमा जेठ ८ गते राष्ट्रपति भण्डारीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गर्दै निर्वाचनको मिति तोकेकी थिइन् । तर प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा असार २८ गते सर्वोच्च अदालतको फैसलाले प्रतिनिधिसभा बूँतिएको छ । राष्ट्रिय सभाको अधिवेशन पनि असार २८ गते अन्त्य गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.