काठमाडौं : एमाले स्थायी कमिटी बैठकले पार्टी एकता कायम गर्न गठित १० सदस्यीय कार्यदलले तयार पारेको १० बुँदे सहमति अनुमोदन गरेको छ ।
शुक्रबार पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको बैठकले सहमति स्वीकार्दै कार्यदल विघटन गरेको हो ।
त्यस्तै बैठकले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई समर्थन नगर्ने र विश्वासको मत पनि नदिने निर्णय पनि गरेको छ । बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सरकारलाई विश्वासको मत दिने कुरा सोच्न पनि नसकिने बताए ।
ज्ञवालीले एमाले सशक्त प्रतिपक्षका रूपमा रहने र अदालतको आदेशबमोजिम विश्वासको पक्षमा मतदान गर्नेहरूको निर्णय व्यक्तिगत हुने बताए ।
बैठकले सर्वोच्च अदालतको परमादेशबाट बनेको सरकारको जनमतमा वैधानिकता नरहेको ठहर पनि गरेको छ ।
ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानको कार्यालयमा बसेको बैठक शुरु गर्दै अध्यक्ष ओलीले न्याय पाउने ठाउँबाट आफूलाई अन्याय भएको गुनासो गरेका छन् ।
एमाले स्थायी कमिटी बैठकमा ओलीले सर्वोच्च अदालतको परमादेशबाट जनताको समर्थन प्राप्त सरकार ढालिएको आरोप लगाएका थिए । प्रधानमन्त्रीबाट ओली बाहिरिएपछि नेकपा एमालेको बैठक पहिलोपटक प्रधानमन्त्री निवास बालुवाटार बाहिर बसेको हो ।


