लामो दूरीका सार्वजनिक यातायातमा २८ प्रतिशत भाडा बढ्यो

0

काठमाडौं : सरकारले लामो दुरीका सार्वजनिक यातायातमा भाडादर वृद्धि गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले दुई वा सो भन्दा बढी प्रदेश भई सञ्चालन हुने सार्वजनिक यातायातका सवारीहरुको भाडादर बढाएको हो ।

विभागका अनुसार यात्रुवाहक सवारी साधनमा २८ प्रतिशत भाडादर वृद्धि भएको छ । यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा २६ प्रतिशत भाडादर वृद्धि भएको छ ।

विभागले असार २७ गते मन्त्रीस्तरको सहमति प्राप्त भएपछि संविधानको अनुसूची ५ को बुँदा नं २० र अनुसूची ९ को बुँदा नं १५ को आधारमा नेपाल सरकारले गरेको कार्य विस्तृतीकरण र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ९६ को उपदफा १ र दफा १५३ को खण्ड (घ) ले दिएको अधिकार प्रयोग गरी भाडादर वृद्धि गरिएको प्रष्ट पारेको छ ।

सवारी साधनको वैज्ञानिक भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकहरुको अंश ६५ प्रतिशत हुनुपर्छ । तर २०७२ साल देखि इन्धनलाईमात्र आधार मानी भाडा समायोजन गरिदै आएको र २०७५ असोज ७ गते समग्रमा १० प्रतिशत भाडादर वृद्धि गरी समायोजन गरिएको थियो ।

मंगलबारदेखि लागू भएको नयाँ भाडादर निर्धारण गर्दा श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्रासकट्टी र सञ्चालन मुनाफा लगायतका सूचकहरुमा देखिएको मूल्यवृद्धिलाई आधार मानिएको विभागले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.