जापानले नेपाललाई अष्ट्राजेनिकाको १६ लाख डोज खोप उपलब्ध गराउने
काठमाडौं : जापानले नेपाललाई कोभ्याक्स कार्यक्रममार्फत अष्ट्राजेनिकाको १६ लाख डोज खोप उपलब्ध गराउने भएको छ । मंगलबार विदेश मन्त्री मोतेगी तोसिमित्सुले कोभ्याक्समार्फत खोप उपलब्ध गराउने घोषणा गरेका हुन् ।
जापानबाट उक्त खोप साउन/भदौभित्रै (जुलाईमध्यदेखि अगस्टअन्तिमसम्म) ल्याइसक्ने नेपालस्थित जापानी दूतावासले जनाएको छ ।
जापानी राजदूत किकुता युताकाले नेपाल र जापानबीचदेखि लामोसमयदेखि सम्बन्ध रहँदै आएको बताएका छन् । जापानले खोप उपलब्ध गराउने निर्णयले नेपाली जनताको जीवन सुरक्षित हुने उनले बताए ।
अष्ट्राजेनिका खोप जापान आफैँले निर्माण गरेको हो । यो खोप भारतमा सेरम इन्स्टिच्युटद्वारा उत्पादन गरिएको कोभिसिल्ड खोपजस्तै हो । कोभिसिल्डको पहिलो डोज खोप लगाएका र दोस्रो खोप लगाउन बाँकी ज्येष्ठ नागरिकलाई अष्ट्राजेनिका खोप लगाउन सकिने दूतावासले जनाएको छ ।