देउवा प्रधानमन्त्री बन्दै, गठबन्धनको सहमतिमा मन्त्रिमण्डल विस्तार गरिने
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्री नियुक्त हुँदैछन् । देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले राष्ट्रपतिलाई परमादेश जारी गरेसँगै नयाँ सरकार गठनको तयारी पनि शुरु भएको छ ।
देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चले दिएको समय मंगलबार साँझ पाँच बजे सकिँदैछ । सोही अनुसार राष्ट्रपति कार्यालयले देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने र शपथग्रहण गराउने तयारी शुरु गरेको बताइएको छ ।
सोमबार सर्वोच्चको फैसलापछि बसेको ५ दलीय गठबन्धनको बैठकले देउवाको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको थियो । गठबन्धनको बैठकले देउवाको नेतृत्वमा सरकार गठन गर्ने र प्रारम्भिक चरणमा सानो आकारको मन्त्रिपरिषद् बनाउने निर्णय गरेको कांग्रेस नेता बालकृष्ण खाँडले जानकारी दिए ।
मन्त्रालय बाँडफाँटको विषयमा भने थप छलफल हुने नेताहरुको भनाइ छ । मन्त्रिमण्डल गठन र मन्त्रालयको बाँडफाँटको विषयमा निर्णय गर्न गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्ने जनाइएको छ ।