प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज फैसला आउने सम्भावना
काठमाडौं : कुनै प्राविधिक समस्या नपरेमा दोस्रो पटक भएको प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वाेच्च अदालतले सोमबार फैसला सुनाउँदै छ ।
यद्यपि मुद्दा हेर्दाहेर्दैमा राखिएकाले सर्वोच्चले प्राविधिक कारण देखाएर अर्को दिन निर्णय सुनाउने आदेश पनि दिन सक्छ ।
असार २१ गते सुनुवाइ सकेर हेर्दाहेर्दैमा राखेको मुद्दाको फैसलाका लागि सोमबारको मिति तय भएको थियो ।
विघटन विरुद्धको मुद्धा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीश दीपककुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा छ । इजलाशले असार ९ गतेदेखि शुरु गरेको अन्तिम सुनुवाइ सवै पक्षको बहसपछि असार २१ गते समाप्त गरेको थियो ।
फैसला तयार पार्न भन्दै इजलाशमा रहेका न्यायाधीशहरुले असार २१ गते यता कुनै पनि मुद्दाको पेशी समेत लिएका छैनन् । पक्ष, विपक्ष, एमिकस क्युरीसहित ८२ जनाले यो मुद्दामा बहस गरेका थिए ।
सर्वोच्च अदालतले सुनाउने फैसलाले नेपालको अबको राजनीति दिशासमेत निर्देश गर्ने भएकाले यो फैसलाको धेरै प्रतिक्षा गरिएको छ । देश निर्वाचनमा जाने कि नजानेदेखि प्रधानमन्त्री को हुनेसम्मका कुरासमेत अदालतको फैसलापछि नै निर्णय हुने छ ।