अमेरिकामा अत्याधिक गर्मी, जनजीवन प्रभावित
एजेन्सी : उच्च गर्मीका कारण अमेरिकाको पश्चिमी क्षेत्र नराम्ररी प्रभावित भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार क्यालिफोर्निया र नेभाडा राज्यको तापक्रम अहिलेसम्मकै उच्च पुगेको छ ।
क्यालिफोर्नियाको डेथ भ्यालीको तापक्रम अहिलेसम्मकै उच्च ५४ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ ।
तापक्रम निरन्तर बढ्ने क्रममा रहेकाले अबको केही दिन दशौँ लाख अमेरिकीले उच्च गर्मीको सामना गर्नुपर्ने भएको छ ।
राष्ट्रिय मौसम सेवाले प्रभावित क्षेत्रका बासिन्दालाई पर्याप्त मात्रामा पानी पिउन तथा वातानुकुलित भवनमा बस्न आग्रह गरेको छ ।
उच्च गर्मीसँगै अमेरिकाका विभिन्न क्षेत्रमा डढेलो पनि लागेको छ । क्यालिफोर्नियासँग सीमा जोडिएको नेभाडामा पनि तापक्रम उच्च बन्दै गएको छ ।
केही हप्ता पहिले मात्रै क्यानडामा तापक्रम उच्च हुँदा जनजीवन प्रभावित भएको थियो ।