एमाले कार्यदल बैठक स्थगित, पुन: साँझ ७ बजे बस्ने
काठमाडौं : नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदल सकारात्मक दिशातर्फ अघि बढेको छ । सिंहदरबारमा बिहीबार बसेको बैठकमा विवादित विषयमा समाधान खोज्न सकारात्मक छलफल भएको र बिहीबार साँझ नै टुंगिने विश्वास नेताहरुले गरेका छन् ।
दिउँसो आन्तरिक छलफल गरेर बैठक साँझ ७ बजे पुनः बस्ने अध्यक्ष केपी शर्मा ओली पक्षका संयोजक सुवास नेम्वाङले जानकारी दिए । विवाद निष्कर्षमा पुर्याउनका लागि गृहकार्य गर्ने उद्देश्यले बैठक स्थगित गरिएको नेम्वाङले जानकारी दिए ।
एमाले पार्टी एकताबद्ध रहेको तयारीसहित घोषणा गर्न लागेको नेम्वाङको दाबी थियो । विवादलाई सहमतिको निष्कर्षमा पुर्याउनका लागि संवाद जारी रहेको र दिनभर नेताहरूबीच विवादबारे छलफल गरेर साँझ ७ बैठक बस्ने उनले जानकारी दिए ।
त्यस्तै एमालेको माधव पक्षका कार्यदल सदस्य गोकर्ण विष्टले बैठकमा छलफल सहमतिको विन्दुमा पुगेको दाबी गरे । विष्टले बिहीबारको बैठकमा बुधबारभन्दा धेरै प्रगति भएको बताउँदै लगभग सहमतिको विन्दुमा पुगेको जानकारी दिए ।
बैठकपछि दुबै पक्षका कार्यदल सदस्यहरु आन्तरिक छलफलमा जुटेका छन् । कार्यदलको बैठकअघि कार्यदल सदस्य विष्णु पौडेल र भीम रावलबीच २ घण्टा छलफल भएको थियो ।
एमाले विवाद चलिरहेका बेला लामो समयपछि अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार भेटवार्ता भएको थियो ।