ओलीले माधव समूहलाई हस्ताक्षर फिर्ता लिन दिएको समयसीमा आज सकिँदै

0

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता गर्न एमाले सांसदलाई दिएको समयसीमा सोमबार सकिँदै छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर फिर्ता लिन आज साँझ बेलुका ५ बजेसम्मको समय दिएका थिए ।

देउवालाई प्रधानमन्त्रीका लागि परमादेश जारी गरियोस् भन्ने माग गर्दै एमालेका २३ जना सांसदले सर्वोच्च अदालतमा हस्ताक्षर बुझाएका छन् ।

गत शुक्रबार बसेको ओली पक्षीय केन्द्रीय समिति बैठकमार्फत अध्यक्ष ओलीले असार २१ गते सोमबार बेलुका ५ बजेसम्मको समयसीमा दिँदै त्यो बेलासम्म हस्ताक्षर फिर्ता नलिने उनीहरु एमाले हुन नसक्ने बताएका थिए ।

यद्यपि ओलीले दिएको समयसीमा भित्र माधव नेपाल पक्षले हस्ताक्षर फिर्ता नगर्ने जवाफ दिइसकेको छ । यसले एमालेभित्रको विवाद थप जटिल र नयाँ मोडमा प्रवेश गर्ने भएको छ ।

ओलीले आफ्नो भनाइ कार्यान्वय गरे भने नेपाल पक्षका २३ जना सांसद कारवाहीमा पर्ने निश्चित छ ।

यसबीचमा पार्टी एकताको सन्देश दिन भन्दै दोस्रो तहका नेताहरुले ओली र नेपालको संयुक्त हस्ताक्षरमा विज्ञप्ति निकाल्न गरेको प्रयास पनि असफल भएको छ । सर्वोेच्च अदालतको फैसला आउनै लाग्दा ओली पक्षबाट संयुक्त विज्ञप्तिका लागि भएको प्रयासलाई नेपाल पक्षले मुद्दा कमजोर बनाउने रणनीतिको रुपमा हेरेको छ ।

संयुक्त विज्ञप्तिको प्रयास विफल भएपछि नेपालका बलिया सहयोगी भीम रावललाई ओलीले भेट गरेका छन् । गएराति बालुवाटारमा भएको भेटमा ओली र रावलबीच भएको सम्वादमा के कुरा भयो भन्ने चाहिँ केही सार्वजनिक गरिएको छैन ।

Leave A Reply

Your email address will not be published.