आन्तरिक हवाइ उडान शुरु

0

काठमाडौं : दुई महिनापछि आन्तरिक हवाइ उडान सुचारु भएको छ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञापछि बन्द भएको आन्तरिक उडान बिहीबारदेखि शुरु भएको हो ।

मन्त्रिपरिषद्को निर्णय अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबारदेखि आन्तरिक उडान नियमित रुपमा शुरु गर्ने निर्णय गरेको हो । 

उडान नियमित भएपनि हाललाई साविकको तुलनामा ५० प्रतिशत उडान मात्रै हुनेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ वटा उडानमात्रै गर्ने गरी तयारी गरेको छ । बिहीबार भने ५९ वटा उडान तय भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ ।

बुद्ध एयरले दैनिक ३१ उडान, यति एयरलाइन्सले १५, श्री एयरलाइन्सले ७, सौर्य एयरलाइन्सले ३ उडानको स्वीकृति पाएको छ । 

दुर्गम भेगमा उडाउने कम्पनीले भने काठमाडौंबाट दैनिक ८ वटा उडानको अनुमति पाएका छन् । 

अहिले काठमाडौंबाट तारा एयर र समिट एयरले मात्र दुर्गममा उडान गर्दै आएका छन् । सीता एयरले दुर्गममा उडाउने भएपनि उसले क्षेत्रीय विमानस्थललाई आधार बनाएर दुर्गममा सेवा दिइरहेको छ । हवाई यात्रा गर्ने यात्रुले तोकिएको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ । कोरोनाका लक्षण देखिएका यात्रुले जहाज चढ्न पाउने छैनन् भने मास्क अनिवार्य गरिएको छ ।।

Leave A Reply

Your email address will not be published.