काठमाडौं : विपक्षी गठबन्धका नेताहरुले एकअर्कालाई धोका नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिवार पत्रकारसँगको अन्तरक्रियामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपालले गठबन्धनलाई अझै सशक्त बनाउने बताएका हुन् ।
अन्तरक्रिया नेपाली कांग्रेसका सभापति देउवाले माधव नेपाल लडाकु मित्र भएको भन्दै उनीबाट कुनै धोका नहुने बताए । आफूलाई प्रधानमन्त्रीमा नियुक्त नगरेकोमा राष्ट्रपतिको चर्को आलोचना गर्दै देउवाले भण्डारी राष्ट्रपतिभन्दा प्रधानमन्त्री ओलीको कार्यकर्ता भएको आरोप लगाए ।
आफूलाई १४९ सांसदले प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरे पनि राष्ट्रपतिले रातारात संसद विघटन गरेको भन्दै आपत्ति जनाएका देउवाले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनस्थापना हुने र आफूलाई प्रधानमन्त्री बनाउन आदेश हुने विश्वास व्यक्त गरे ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहालले आफूहरुको लडाइँ प्रधानमन्त्रीका लागि नभएर संविधान र लोकतन्त्र रक्षाका लागि भएको बताए । संविधान र लोकतन्त्र रक्षाका लागि बनेको गठबन्धन लामो समयसम्म अघि बढ्ने दाबी गरे ।
नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरुले सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षर फिर्ता नलिने बताए । नेता नेपालले प्रधानमन्त्रीको प्रस्ताव आए पनि आफूले गठबन्धनलाई धोका नदिने प्रष्ट पारे ।
आफूहरु एमालेको विद्रोही पक्ष भएको भन्दै नेता नेपालले अहिलेको लडाइँ केपी ओली प्रवृत्तिविरुद्ध भएको पनि स्पष्ट पारे । त्यस्तै जनता समाजवादी पार्टी नेता राजेन्द्र श्रेष्ठले प्रधानमन्त्री ओलीले गत जेठ ६ गते मार्ग प्रशस्त नभइ, मार्ग अवरुद्ध गरेको आरोप लगाए ।