जेसीबीको बकेटले प्रहार गरेर वडाध्यक्षको हत्या
सर्लाही : सर्लाहीको ईश्वरपुरमा वडाध्यक्षको हत्या भएको छ । ईश्वरपुर–३ भक्तिपुरका वडाध्यक्ष ५५ वर्षीय सूर्यकुमार श्रेष्ठको शुक्रबार राति हत्या भएको प्रहरीले जनाएको छ ।
भर्खरै खनिएको पोखरीको निरीक्षण गर्न जाँदा भएको विवादको क्रममा डोजर चालकसहित केही व्यक्तिले वडाध्यक्षको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । ईश्वरपुर नगरपालिकाका मेयर मनोज देवकोटाले पनि वडाध्यक्ष श्रेष्ठको हत्या भएको पुष्टि गरेका छन् ।
देवकोटाका अनुसार ईश्वरपुर– ३ को मुखलाल बाँधमा पोखरी विस्तारको अनुगमन गर्न जाँदा जेसीबीको बकेटले हिर्काएर वडाध्यक्षको हत्या गरिएको आरोप लगाइएको छ ।
शुक्रबार साँझ जेसीभीका ठेकेदार प्रेम दाहालसँगै श्रेष्ठ पनि पोखरी निरीक्षण गर्न बाँध स्थलमा गएका थिए । सो क्रममा नजिकैको पसलमा खाजा खानेक्रममा जेसीबीका चालक हर्कबहादुर तामाङ र वडाध्यक्षबीच विवाद भएको थियो । खाजा खाएपछि दुवै पोखरी बिस्तार भइरहेको ठाउँमा गएका थिए ।
प्रहरीले जेसीबी चालक रविन तामाङ भनिने हर्कबहादुर तामाङ र जेसीबी धनी प्रेम दाहाललाई पक्राउ गरेको मेयर देवकोटाले जानकारी दिए । जेसीबीका ठेकेदार ३५ वर्षीय प्रेम दाहाल ईश्वरपुर नगरपालिका– ३ का स्थायी बासिन्दा हुन् भने जेसीबी चालक तामाङ सर्लाहीकै बरहथवा नगरपालिका– १ निवासी हुन् ।