राष्ट्रियसभाको अधिवेशन असार १७ गते आह्वान
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले असार १७ गतेका लागि राष्ट्रियसभाको बैठक आह्वान गरेकी छन् ।
नेपालको संविधानको धारा ९३ को उपधारा(१) बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा अपराह्न ४ बजे अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपतिले समयसमयमा दुवै वा कुनै सदनको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । गत पुसमा प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयअघि प्रतिनिधिसभा र राष्ट्रियसभाका अधिवेशन एकै पटक आह्वान हुँदैआएंको थियो ।
राष्ट्रियसभाको सातौँ अधिवेशन गत पुस १७ गते प्रारम्भ भई २६ गते अन्त्य भएको थियो । सो अधिवेशनमा चार बैठक बसेकामा सात अध्यादेश पेश गरिएको थियो ।
एउटा अधिवेशनको समाप्ति र अर्काे अधिवेशन प्रारम्भबीचको अवधि छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्था छ ।