देवघाटमा आध्यात्मिक अनुसन्धान केन्द्र स्थापना

0

काठमाडौं : देवभूमिका रुपमा परिचित नेपालको देवघाटमा रामानन्द गिरि अनुसन्धान केन्द्र स्थापना गरिएको छ । महेश संस्कृत गुरुकुलले गुरुकुलका संस्थापक स्वर्गीय स्वामी रामानन्द गिरिको स्मृतिमा ‘रामानन्द आध्यात्मिक अनुसन्धान केन्द्र’ स्थापना गरेको हो ।

No description available.

गंगादशहरा पर्वको अवसर पारेर गत साता स्वामी सच्चानन्द गिरिले अनुसन्धान केन्द्रको शुभारम्भ गरे । शुभारम्भ कार्यक्रममा महेश संस्कृत गुरुकुलका संरक्षक स्वामी मधुसूदनानन्द गिरि, पीठाधीश स्वामी रमणानन्द गिरि, विद्यापीठका प्राचार्य डा गुरुप्रसाद सुवेदी, गुरुकुलका प्रधानाध्यापक फणीन्द्रप्रसाद पौडेल लगायत गुरुकुलका पदाधिकारीहरु, अभिभावक, छात्र एवम् साधुसन्तहरूको उपस्थिति रहेको थियो ।

सनातन ज्ञान–विज्ञान र नेपालको मौलिक इतिहास, परम्परा एवं नेपाली संस्कृतिको अध्ययन, अनुसन्धानका लागि विश्वमै पहिलो पटक आध्यात्मिक अनुसन्धान केन्द्र स्थापना गरिएको गुरुकुलको दाबी छ ।

अनुसन्धान केन्द्रले नेपालका सबै जातजाति, भाषा, संस्कार, संस्कृतिको सनातन स्रोत खोज्दै मौलिक नेपाली पहिचानको अन्वेषण गर्ने जनाइएको छ ।

के गर्छ केन्द्रले ?

२०५० सालमा तनहुँको देवघाटमा स्थापना भएको महेश संस्कृत गुरुकुलले झण्डै २८ वर्षपछि अनुसन्धान केन्द्र स्थापना गरेको हो । अनुसन्धान केन्द्र स्थापना गर्ने यो गुरुकुल नेपालकै पहिलो हो । जिल्ला शिक्षा कार्यालय तनहुँ र नेपाल संस्कृत विश्वविद्यालयबाट स्वीकृति लिई सनातन र आधुनिक शिक्षा प्रदान गर्दै आइरहेको गुरुकुलले समग्र नेपालको भाषा, संस्कृति र आध्यात्मिक विकासक्रमको अनुसन्धान गर्ने उद्देश्यसहित अनुसन्धान केन्द्र स्थापना गरेको हो ।

No description available.

महेश संस्कृत गुरुकुलका पीठाधीश स्वामी रमणानन्द गिरिका अनुसार राष्ट्रिय अभिलेखालयलगायत विविध स्थानमा छरिएका संस्कृत वाङ्मयका प्राचीन पाण्डुलिपिहरूको अध्ययन तथा अनुवाद, नेपालका विभिन्न जातजातिका मौलिक संस्कार र परम्पराको तुलनात्मक विश्लेषण गरी अन्तरसम्बन्ध केलाउनु, शिलापत्र, ताम्रपत्र, भोजपत्रहरूमा सुरक्षित ऐतिहासिक सामग्रीहरूको तुलनात्मक अध्ययन गर्नु तथा सनातन संस्कृतिको विश्वव्यापी प्रभावको अध्ययन एवम् मूल्याङ्कन गर्नु यस केन्द्रको मुख्य उद्देश्य रहेका छन् ।

त्यस्तै, संस्कृत भाषाको संरचनागत वैशिष्ट्य तथा मानवीय जीवन र वातावरणमा त्यसको प्रभावबारे अनुसन्धान गर्नु, संस्कृत वाङ्मयका ध्यान, योग, आयुर्वेद, ज्योतिष, वास्तुविद्याजस्ता विविध विधाहरूको समसामयिक उपयोगिताबारे अनुसन्धान गर्नु, वैदिक संस्कृति, सभ्यता, वैदिक दर्शन एवं साहित्यका विषयमा सर्वसाधारण जनताहरुलाई सुसूचित गर्नु र तत्सम्बन्धी प्राविधिक तालिमहरु प्रदान गर्नु, वैदिक ज्ञानविज्ञानका विविध क्षेत्रहरूलाई आधुनिक प्रविधिको प्रयोग गरी अनुसन्धान एवं सत्यापन गर्नु र संस्कृत तथा नेपाली लोकभाषाका विविध शैक्षिक पाठ्यक्रमहरूको वैज्ञानिकताको मूल्याङ्कन तथा अध्ययन गर्नुलाई पनि केन्द्रले आफ्नो उद्देश्यमा समेटेको छ ।

उद्देश्य अनुरुप क्रियाकलाप अगाडि बढाउन तत्कालिन र दीर्घकालिन गरी कार्यक्रमहरु पनि घोषणा गरिएको छ ।

अनुसन्धान केन्द्रमा इ-लाइब्रेरी स्थापना गर्ने, श्रव्यदृश्य सामग्री उत्पादन गर्ने, राष्ट्रिय तथा अन्तरराष्ट्रिय विभिन्न विश्वविद्यालयहरूसँग सहकार्य गरी विद्यार्थी–शिक्षक आदानप्रदान, अनुसन्धान तालिम कार्यक्रम सञ्चालन गर्ने लगायतका कार्यक्रम पनि अनुसन्धान केन्द्रले घोषणा गरेको छ ।

नेपालमा बसोबास गर्ने जातजातिको सांस्कृतिक सम्बन्धको अध्ययन गरिने र त्यसलाई विश्वभरका अध्येता सामु पुर्याउने लक्ष्य पनि केन्द्रले राखेको छ ।

वार्षिक २ करोड खर्च

आफ्नै खर्चमा गुरुकुल र आश्रम सन्चालन गरिरहेको महेश संस्कृत गुरुकुलले अनुसन्धान केन्द्र सन्चालनका लागि भने विद्यमान भौतिक संरचना अपुग हुने जनाएको छ ।

No description available.

केन्द्रलाई पूर्ण रुपमा सन्चालन गर्न र आवश्यक भौतिक संरचना निर्माणका लागि पचास करोड खर्च हुने केन्द्रको प्रारम्भिक अनुमान छ ।

केन्द्र सञ्चालनमा आएपछि संसारभरबाट अध्येताहरु आउने  र सोही अनुसार प्राध्यापकहरु पनि आवश्यक पर्ने केन्द्रको भनाइ छ । केन्द्र सञ्चालनका लागि वार्षिक दुई करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

देवघाटको धार्मिक महत्व

कालीगण्डकी र त्रिशूली नदीको संगमस्थल देवघाटधाम नेपालकै एक प्रसिद्ध तीर्थस्थलको रुपमा परिचित छ । देवघाटधामकै नाममले तनहुँको एउटा गाउँ पालिकाको नाम पनि देवघाट गाउँपालिका राखिएको छ ।

देवघाट गाउँपालिकामा पर्ने देवघाट धाम परापूर्वकालदेखि पवित्र तीर्थ स्थलको रुपमा परिचित छ । यस धाममा परापूर्वकालमा देवताहरु बसोवास गर्ने भएकाले यस धामको नाम नै देवघाट धाम रहेको धर्मशास्त्रहरुमा उल्लेख छ । यस धाममा स्नान  गरे मात्रै पनि  पूण्य प्राप्त हुन्छ भन्ने हिन्दू धर्मग्रन्थहरुमा उल्लेख छ ।

पछिल्लो समय देवघाटमा धार्मिक पर्यटन पनि फस्टाउँदै गएको छ । ​

Leave A Reply

Your email address will not be published.