कर्णालीका तीन मन्त्रीलाई राजीनामा दिन एमालेको निर्देशन
काठमाडौं : नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा सहभागी तीन जना मन्त्रीलाई तत्काल पदबाट राजीनामा दिन निर्देशन दिएको छ ।
शुक्रबार बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी एमाले सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई फिर्ता बाेलाउने निर्णय गरेको हो ।
गत वैशाख ३ गते एमाले प्रदेशसभा सदस्य ज्वालासहित थापा, शाही र बुढाले माओवादी केन्द्रका नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर फ्लोर क्रस गरेका थिए ।
फ्लोर क्रस गरेपछि एमालेले प्रदेशसभा सदस्य र पार्टीको साधारण सदस्य नरहने गरी उनीहरु चार जनालाई निष्काशन गरेको थियो । सर्वोच्च अदालतले एमाले संसदीय दलकै सदस्यका रुपमा काम गर्न दिनू भन्ने अन्तरिम आदेश दिएपछि उनीहरु पुनर्स्थापित भएका थिए ।
सरकारमा थापा भौतिक पूर्वाधार तथा शहरी विकास, शाही भूमि व्यवस्था, कृषि तथा सहकारी र बुढा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन् ।