काठमाडौं : विपक्षी गठबन्धनले बाढी, पहिरो र डुबानबाट पीडित जनतालाई उद्धार र राहत प्रभावकारी रूपमा अगाडि बढाउन सरकारसँग माग गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा, माअोवादी अध्यक्ष पुष्कमल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारले प्राकृतिक विपत्तिको सामना गर्ने कुनै पूर्वतयारी नगरी गैर जिम्मेवार देखिएको उल्लेख गरेका छन् ।
‘सरकार प्राकृतिक विपत्तिको सामना गर्ने कुनै पूर्वतयारी नगरी गैर जिम्मेवार रहेको देखिएको छ,’ संयुक्त प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘बाढी, पहिरो र डुबानबाट जनताको सुरक्षा गर्न, पीडित जनता र विस्थापितहरुका लागि तत्काल आवास, खाद्यान्न, मृतकका परिवारलाई सहयोग, घाइतेहरुको उपचार लगायतका उद्धार र राहतका काम प्रभावकारी रुपमा अगाडि बढाउन हामी नेपाल सरकारसँग माग गर्दछौं ।’
विज्ञप्तिमा कतिपय मानिसहरूको ज्यान गएको र अर्बौ रुपैयाँ बराबर भौतिक संरचना, अन्नबाली र पशुचौपाया नष्ट हुनेगरी आएको विपत्ति ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको छ ।
गठबन्धनले इमान्दारी, तदारुकता र पारदर्शीरूपमा राज्यका सम्बन्धित सबै निकाय तथा साधन र स्रोतको पूर्ण परिचालन गरी विपद् व्यवस्थापनको कार्यलाई अघि बढाउन आग्रह पनि आग्रह गरेको छ ।