काठमाडौं : पछिल्लो विकसित राजनीतिक घटनाक्रमलाई लिएर पाँच पूर्वप्रधानमन्त्रीले नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको चलखेल नहोस् भन्ने कुरामा सजगता अपनाउनु पर्ने बताएका छन् ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपालको बारेमा नेपालीले नै निर्णय गर्नुपर्ने बताएका हुन् ।
‘नेपालमा संवैधानिक व्यवस्था, कानूनी राज्य र लोकतन्त्रका आधारभूत सिद्धान्त एवं मूल्यहरुमाथि भइरहेको उपर्युक्त प्रकारको निरंकुश हमलाका विरुद्ध ऐक्यबद्धता जनाउन हामी नेपाल जनता, नागरिक समाज र सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरुसँग समेत हार्दिक अपील गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपालको बारेमा हामी नेपालीले नै निर्णय गर्नुपर्छ र नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवम् चलखेल हुन नपाओस् भन्ने कुरामा सजगताका लागि सबैको ध्यान आकर्षित गर्न चाहन्छौं ।’
प्रधानमन्त्री केपी शर्मा ओलीका गलत क्रियाकलापका कारण देशले अस्थिर र अन्योल ग्रस्त राजनीतिक स्थितिको सामना गरिरहेको ठहर पूर्वप्रधानमन्त्रीहरुको छ ।
पाँचपूर्व प्रधानमन्त्रीले ढुंगा–गिटी विदेश निर्यात गर्ने निर्णय राष्ट्रहित विपरित र जनविरोधी भएको भन्दै फिर्ता लिन सरकारसँग आग्रह गरेका छन् । ‘प्रधानमन्त्रीका गलत क्रियाकलापका कारण देशले अस्थिरता र अन्योलग्रस्त राजनीतिक स्थितिको सामना गरिरहेको बेला कामचलाउ सरकारले घाटा बजेट पूर्ति गर्ने निहुँमा देशका विभिन्न भागबाट ढुंगा बालुवा र गिटी उत्खनन् गरी विदेशमा निकासी गर्ने राष्ट्रहित र जनविरोधी निर्णय गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो घरमा आगो लगाएर अरुको हितका लागि खरानी बेच्ने जस्तो सरकारको उक्त निर्णयको तीव्र विरोध गर्दै त्यस्तो निर्णय खारेज गर्न माग गर्दछौं ।’
विशेषतः चुरे र महाभारत शृंखलामा हुने यस्तो उत्खननबाट जंगल विनाश हुने र पानीका मुहानहरु सुक्ने तथा तराई क्षेत्रमा मरुभूमिकरण हुने स्थिति उत्पन्न हुने भन्दै यो निर्णय कार्यान्वयन गर्न नहुने पूर्वप्रधानमन्त्रीहरुको भनाइ छ ।