कांग्रेस सांसद वैद्यले आत्मलोचना गर्दै फिर्ता लिए प्रधानमन्त्रीविरुद्धको अभिव्यक्ति

0

काठमाडौं : बागमती प्रदेश सभामा नेपाली कांग्रेसका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दिएको अभिव्यक्ति फिर्ता लिएका छन् । शनिबार प्रदेश सभा बैठक शुरु भए लगत्तै सभामुख सानुकुमार श्रेष्ठसँग समय मागेर सांसद वैद्यले आवेशमा आएर त्यस्तो अभिव्यक्ति दिएको भन्दै आत्मालोचना गरेका हुन् ।

वैद्यले आफ्नो अभिव्यक्तिप्रति सामाजिक सन्जालमा क्रिया प्रतिक्रिया आएको र आफ्नो पार्टीले समेत माफी माग्न निर्देशन दिएकाले आत्मालोचना गर्दै फिर्ता लिएको बताए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो कुनै रिसइवी नभएको भन्दै आफू हत्या हिंशामा विश्वास नगर्ने गान्धीवादी नेता भए पनि आवेशमा आएर त्यस्तो अभिव्यक्ति दिएको भन्दै फिर्ता लिएको जनाएका छन् ।

लिखित आत्मालोचना गर्दै वैद्यले आफूले अभिव्यक्ति स्वतन्त्रताको बढी नै उपभोग गरेको महशुस गरेको स्वीकार गर्दै आफ्नो भनाइ प्रदेश सभाको रेकर्डबाट हटाउन समेत आग्रह गरेका छन् ।

उनले आत्मालोचनासहित अभिव्यक्ति फिर्ता लिएर संसदको रेकर्डबाट हटाउन अनुरोध गरेपछि सभामुखले अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।

शुक्रबार प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले प्रधानमन्त्री ओलीविरुद्ध नाथुराम गोड्सेको आवश्यकता परेको अभिव्यक्ति दिएका थिए । उनको सो अभिव्यक्तिको चौतर्फि आलोचना भएको थियो ।

Leave A Reply

Your email address will not be published.