काठमाडौं : पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएका छन् ।
सभापति देउवाले आज दिउँसो २ बजेका लागि आफ्नो निवास बूढानीलकण्ठमा बैठक बोलाएका हुन् । बैठकमा कोरोना महामारी र राष्ट्रिय राजनीतिबाट उत्पन्न प्रतिकूलताका बावजुद महाधिवेशन गर्ने विकल्पको खोजी हुने बताइएको छ ।
यी दुवै प्रतिकूलताका बीच आगामी भदौभित्र संविधानतः महाधिवेशन गर्नुपर्ने बाध्यतामा कांग्रेस रहेको छ । वडा तहसम्मै अधिवेशनको कार्यतालिका संशोधन गरेर कांग्रेसमा तयारी छ । कांग्रेसले भदौ ७–१० का लागि १४ औं महाधिवेशनको मिति तोकेको भएपनि अहिलेसम्म कार्यतालिकाअनुसार काम भएको छैन ।
असार ५ गतेबाट वडा तहको अधिवेशन गर्ने कार्यतालिका भएपनि क्रियाशील सदस्यताकै विषय अन्तिम टुंगोमा पुग्न सकेको छैन । कोरोना महामारी र आन्तरिक विवादले कार्यतालिका अनुसार काम हुन नसकेपनि कांग्रेसलाई अब महाधिवेशन सार्ने र टार्ने सुविधा छैन । नियमित प्रक्रियाअनुसार १६ महिनाअघि नै १४ औँ महाधिवेशन सम्पन्न हुनुपर्नेमा विशेष परिस्थिति देखाउँदै एक वर्ष थप गरिएको थियो ।