प्रधानमन्त्री ओलीविरुद्ध नाथुराम गोड्से बन्छु भनेपछि वैद्यको चौतर्फी विरोध, उन्मुक्ति दिँदैनौं : कांग्रेस
काठमाडौं : बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाथुराम गोड्से जस्तो व्यक्ति चाहिएको भनेर आपत्तिजनक अभिव्यक्ति दिएका छन् ।
शुक्रबार प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उनले प्रधानमन्त्री ओलीविरुद्ध नाथुराम गोड्सेको आवश्यकता परेको बताएका हुन् । नाथुराम गोड्से तिनै व्यक्ति हुन् जसले महात्मा गान्धीको गोली हानी हत्या गरेका थिए ।
प्रदेश सभामा भाषण गर्दै उनले भने, ‘ओली यसरी आइरहेको छ कि आफ्नो सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरिराखेको छ । यो समयमा खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । त्यसैले मेरो आग्रह, कोही नाथुराम गोड्से आवश्यक पर्यो है अब यो देश बचाउनका लागि ।’
उनले आफू स्वयम् नाथुराम गोड्से बन्न तयार रहेको समेत इंगित गरे । ‘कोही नाथुराम गोड्से बन्न तयार छैन भने म बन्ने कि ? म बन्ने कि ?’ उनले भने ।
वैद्यको चौतर्फी विरोध
प्रधानमन्त्री ओलीविरुद्ध अभिव्यक्ति दिने सांसद् वैद्यलाई कारबाही गर्न एमाले नेताहरुले माग गरेका छन् ।
पूर्वमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री ओलीमाथि भयानक षडयन्त्र भैरहेको बताएका छन् । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका बास्कोटाले शुक्रबार ट्वीटरमार्फत भनेका छन्ः ‘केपी ओली नमारे कांग्रेस नजित्ने रहेछ, प्रधानमन्त्री माथि कुनै भयानक षडयन्त्र हुँदै रहेछ । नत्र प्रदेश सांसद त्यो पनि पशुपतिनाथ रहेको क्षेत्रबाट प्रतिनिधित्व गर्नेले यस्तो कसरी बोल्न सक्छ ?’ बाँस्कोटाले बैद्यको अभिव्यक्तिबारे कांग्रेसको आधिकारिक धारणा समेत मागेका छन् ।
एमाले स्थायी कमिटी सदस्य विष्णु रिमालले नराेत्तमकाे वैद्यकाे अभिव्यक्तिले कांग्रेसले कतै हिंस्रक याेजनाकाे नेतृत्व गर्दैछ भन्ने संकेत हाेकी भन्ने शंका व्यक्त गरेका छन् । ‘०४७ पछि कांग्रेसको ‘लोकतन्त्र’ देखेको मात्रै हैन भोगिएकै हो, प्रदेस सभा सदस्य वैद्यको यो भनाई ‘टंग स्लिप’ नभइ कांग्रेस हिंस्रक योजनाको नेतृत्व गर्दैछ भन्ने संकेत पनि हो, नेकां र उ सहितको विपक्षी गठबन्धनले आफ्नो “योजना” थप स्पष्ट पारोस्,’ रिमालले सामाजिक सञ्जालमा लेखेका छन् ।
पूर्वमन्त्री एवं एमाले नेता महेश बस्नेतले नराेत्तमलाई तत्काल पक्रेर सरकारले कारबाही गर्नुपर्ने बताएका छन् । केपी ओलीलाई मार्ने याेजना बनाउनेहरुलाई सचेत रहन पनि महेशले चेतावनी दिएका छन् ।
‘महात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने षडयन्त्र कांग्रेसले बनाएको हो त ? गान्धीका हत्यारा नाथुराम गोडसे बन्न तयार छु भनेर कांग्रेसको नरोत्तम वैद्यले प्रदेश सभामा खुल्लम खुल्ला बोलिरहेका छन्, यो मान्छेलाई तुरुन्त पक्राउ गरेर सरकारले कारबाही गर्नुपर्दछ, अन्यथा जनताको आक्रोश प्रकट भएर यस्ता व्यक्तिलाई सडकमै प्रतिराेध गर्न सक्छन्, त्यस्तो अप्रlय घटना हुनु अगाडि सरकार सचेत हुनुपर्दछ’- बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन् ।
एमाले नेता याेगेश भट्टराईले वाग्मती प्रदेश सभा सदस्या नराेत्तमले तत्काल माफी माग्नुपर्ने बताएका छन् । याेगेशले फेसबुकमा लेखेका छन् – ‘प्रदेश सभा सदस्य नरोत्तमजीले दश वटा तर्क नगरि खुरुक्क माफ माग्नु नै बेस हुन्छ ।’
उन्मुक्ति दिँदैनौं : कांग्रेस
प्रधानमन्त्री ओलीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिने आफ्ना पार्टीबाट बागमती प्रदेश सांसद नरोत्तम वैद्यलाई उन्मुक्ति नदिइने नेपाली कांग्रेसले जनाएको छ ।
सडकमा समेत राख्नुपर्ने संयमता यसरी संसदमा गुमाउनेलाई उन्मुक्ति दिन नसकिने कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।
सांसद वैद्यको अभिव्यक्ति सार्वजनिक हुनासाथ प्रवक्ता शर्माले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘आवेगको बोली र व्यवहार ‘भावनात्मक उत्तेजना’ भनेर उन्मुक्ति हुन्न । शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ। तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन ।’