काठमाडौं : मुलुकको पछिल्लो राजनीतिक परिस्थितिका बारेमा सभामुख अग्नी सापकोटाले पूर्वप्रधानमन्त्रीसहित विभिन्न दलका शीर्ष नेतासँग छलफल गरेका छन् ।
शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वरमा सभामुख सापकोटाले संसद विघटन, अदालतमा रहेको मुद्दा र पछिल्ला घटनाक्रमका विषयमा विभिन्न दलका शीर्ष नेतासँग छलफल गरेका हुन् ।
छलफलका क्रममा दलका शीर्ष नेताहरुले संसद विघटनदेखि चुरे दोहन गर्ने अलोकतान्त्रिक निर्णय सरकारले गरेको धारणा राखेका थिए ।
त्यस्तै उनीहरुले कोरोना नियन्त्रण, रोकथाम तथा उपचारमा पनि सरकारको पर्याप्त ध्यान जान नसकेको बताएका थिए ।
बैठकपछि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सरकारले चूनावको घोषणा गरेपनि चूनाव गर्ने नियत नदेखिएकोमा सबैको एकमत रहेको बताए ।
त्यस्तै बजेटमा आएका चुरेका विषयमा पनि दलहरुको असन्तुष्टि रहेको जिकिर गरे । देशको संविधान र व्यवस्था नै विफल पार्ने गरी षड्यन्त्र भइरहेको उनको आरोप थियो । सर्वोच्चबाट प्रतिनिधि सभा पुनर्स्थापना भए त्यो सबैभन्दा उपयुक्त निकास हुने डा. भट्टराईको भनाइ थियो ।
त्यस्तै जसपाका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्चले न्याय दिनेमा सबै पार्टीको विश्वास रहेको बताए । अहिलेको अवस्थाका कसरी अघि बढ्ने भन्नेमा छलफल केन्द्रित रहेको उनले बताए । उनले अहिले जसपा एकै रहेको र पार्टीभित्र विवाद मात्र रहेको तर्क गरे । उनले नागरिकताको कानून सरकारले संसदबाटै पारित गराउनुपर्ने बताए ।
सभामुख सापकोटाले अहिले लोकतन्त्र र विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धीलाई जोगाउने जिम्मा सबैको काधमा आएको बताएका थिए ।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका असन्तुष्ट नेता माधव नेपाल, संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाललगायत नेता सहभागी थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बैठकमा सहभागी हुन आमन्त्रण गरेपनि उनी सहभागी भएनन् ।