नेपाललाई तत्काल खोप उपलब्ध गराउन बेलायतका १६ सांसदको बेलायती सरकारलाई आग्रह

0

काठमाडौं : बेलायतका १६ जना सांसदले नेपाललाई तत्काल कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गर्दै विदेशमन्त्री डोमिनिक रावलाई पत्र लेखेका छन् ।

मन्त्री रावलाई बुझाइएको पत्रमा तत्काल खोप आपूर्ति गर्न र अक्सिजन कन्सनट्रेटर, जेनेरेटर र अत्यावश्यकीय औषधि उपलब्ध गराउन आग्रह गरिएको छ ।

उनीहरुले मन्त्री रावलाई पठाएको पत्रमा खोपसहित अक्सिजन कन्सनट्रेटर र अन्य स्वास्थ्य सामाग्री उपलब्ध गराउन माग गरेका छन् ।

अहिलेको स्थिति नेपालका लागि मात्र ठूलो प्रकोप नभइ विश्वका लागि नै जोखिम भएको भन्दै सांसदहरुले बेलायत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

यस्तै, सांसदहरुले नेपालमा संक्रमित भएकामध्ये ९७ प्रतिशतमा भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्ट देखिएको र यो द्रुत गतिमा फैलिँदै गएको पनि बताएका छन् । तर, नेपालमा कमजोर स्वास्थ्य पूर्वाधार, अक्सिजनलगायतको अभाव भएकाले रोकथाम तथा उपचार प्रभावित भएको भन्दै तत्काल सहायता गर्नु पर्नेमा उनीहरुले जोड दिएका छन् ।

पत्रमा कोभ्याक्सबाट खोप आउन ढिलाइ हुने देखिएकाले केही राज्यमा लगाइराखिएको खोपमा कटौती गरेर र अन्य विकासशिल मुलुकलाई दिने भनिएको खोप नेपाललाई प्रदान गर्न आग्रह गरिएको छ ।

सांसदहरु माइक एमेस्बेरी, क्रिस्टि ब्ल्याकमनसहितका सांसदहरुले बुझाएको पत्रमा नेपाली गोर्खाले कठिन समयमा बेलायतलाई साथ दिएकाले समस्यामा परेको अवस्थामा सहयोग गर्नुपर्ने बताएका छन् ।

१६ जना सांसदले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, ‘अप्ठेरो अवस्थामा भारतलाई निकै सहयोग गरे पनि त्यही भाइरसको भेरियन्टका कारण समस्यामा परेको नेपाललाई किन सहयोग गरेनौँ ? नेपाललाई सहयोगको तुरुन्तै आवश्यकता छ ।’

Leave A Reply

Your email address will not be published.