काठमाडौं : पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमालेका नेताहरुलाई प्रश्न गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई २ जेठ २०७५ को अवस्थामा लैजान तयार भएको घोषणा गरेपछि बाबुरामले पार्टी एक हुँदैमा ओलीले गरेका गल्तीलाई माफ दिने ? भन्दै प्रश्न गरेका हुन् । 

पूर्वप्रधानमन्त्री भट्टराईले आइतबार राति सामाजिक सञ्जालमार्फत एमालेजनप्रति प्रश्न गर्दै ओलीको सात खत माफ गर्न नहुने संकेत गरेका हुन् । 

‘एमाले कणहरूसँग जिज्ञासा : तपाईंहरू सबै जेठ ३ मा फर्केर एउटै चुल्होमा बाक्लो दालसहित भात भान्सा गरेमा त्यसयता ओलीले गरेका २/२ पटकका संसद विघटन, संवैधानिक अंगहरूको अवैध कब्जा, यति-ओम्नी लगायतका अर्बौंको भ्रष्टाचार, सांसद अपहरण, कोरोना पीडित लाखौंको बिचल्ली र अक्षम्य राष्ट्रघात सबै माफ हुन्छन् ?’, उनले प्रश्न गरेका छन् ।

ओलीले एमालेमा विवाद बढेर फुटतर्फ गइरहेका बेला पार्टीलाई २०७५ जेठ २ को अवस्थामा लैजाने घोषणा गरेपछि माओवादी केन्द्र र अन्य दलमा पनि तरंग आएको छ ।

No description available.