काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्र देखिएको विवाद समाधानका लागि ६ बुदेँ प्रस्ताव सार्वजनिक गरेका छन् । पार्टी भित्रै झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले समानान्तर कमिटीको अभ्यास गरिरहेका बेला पार्टी एकता जोगाउन भन्दै प्रधानमन्त्री समेत रहेका ओलीले लामो पृष्ठभूमी बाँध्दै ६ बुँदे प्रस्ताव राखेका हुन् ।
प्रधानमन्त्री ओलीले माओवादी केन्द्रसँग एमालेको पार्टी एकीकरण हुनुपूर्वको अवस्था २०७५ जेठ ३ अघिको अवस्थामा फर्कन तयार रहेको बताएका छन् । सँगै सोही बुँदामै प्रधानमन्त्री ओलीले यसअघि नेकपा हुँदा र नेकपा बदर भएपछि एमालेमै रहेका पूर्व माओवादी नेताहरुलाई पनि उचित जिम्मेवारी दिने पनि प्रस्ट प्रस्ताव गरेका छन् ।
यसैगरी एमालेकै पुरानै संरचना अनुसार पार्टी कमिटीहरु क्रियाशील हुने पनि प्रधानमन्त्री ओलीले बताएका छन् ।
उनले भनेका छन, ‘नेकपा एमालेलाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइनेछ । नेकपाको केन्द्रीय कमिटिका सदस्यहरुमध्ये एकताको पक्षमा उभिनुभएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशिल हुनेछन् ।’
साथै प्रधानमन्त्री ओलीले एमालेलाई वैचारिक, संगठानत्मक र भावनात्मक रुपले एकताबद्ध, अनुसाशित र अझ सुदृढ बनाउन सबैले योगादान गर्नेमा विश्वास व्यक्त गरेका छन् ।
